निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका यी जिल्लामा भोली मतपत्र ढुवानी गर्दै
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ सकिएको जनाएको छ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख ९८ हजार प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार पाँच सय मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली,कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ ।
प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि तीन सय ३० निर्वाचन क्षेत्र छन् । उक्त निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा हुँदैछ । आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् ।
आगामी निर्वाचनबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ एक सय १० तथा प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ दुई सय २० सदस्य निर्वाचित हुनेछन् ।