‘विप्लव’ नेतृत्वको नेकपासहितका तीन कम्युनिस्ट पार्टीको चुनाव बहिष्कार गर्ने घोषणा

फाइल तस्वीर

काठमाडौं ।आगामी मंसिर ४ गते हुने निर्वाचनलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका तीन वटा कम्युनिस्ट पार्टीहरू बहिस्कार गर्ने घोषणा गरेका छन् ।

बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् ।

तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त पत्रकार सम्मेलन गर्दै २६ देखि ३० कात्तिकसम्म विरोध प्रर्दशन र कोणसभालगायतका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था रहेसम्म नेपालले सुखको श्वास फेर्न नसक्ने तर्क गर्दै अहिलेको चुनाव जनप्रतिनिधि छान्ने बहानामा पैसाको खोलो बगाएर मत किन्ने खेल भएको आरोप लगाए ।

उनले अहिलेको चुनावबाट जनताको प्रतिनिधिभन्दा पनि दलालहरु चुनिएर आउने भन्दै ‘दलाल संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्ने’ बताए ।

‘संसदीय व्यवस्था र चुनावले श्रमजीविको अधिकार स्थापित गरेको इतिहासमा छैन, त्यसकारण यो चुनावलाई नांगो बनाएर खारेज र बहिस्कार गर्छौं,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिले संसदीय व्यवस्था नै कम्युनिस्टहरूको व्यवस्था जस्तो भएर आएको भन्दै कुनै पनि हालतमा जनवादविरुद्धको संसदीय चुनावलाई वैधानिकता नदिने बताए ।

उनले यो चुनावले कुनै पनि मूल्यमा जनताको अधिकार र राष्ट्रियता रक्षा गर्न नसक्ने हुँदा चुनाव खारेज गर्नुपर्ने बताए ।

त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ आगामी निर्वाचन नाटक मात्र भएको भन्दै खारेज गरेरै छोड्ने बताए । ‘राज्यले आफ्नो कालो कर्तुतलाई छोप्न र श्वास भर्नको लागि यस्ता चुनावहरुको नाटक गर्ने गरेको उनले भने ।

सरकारले भने विप्लव नेतृत्वको नेकपाले चुनाव खारेज गर्ने धारणा सार्वजनिक गरेलगत्तै कसैले अशान्ती मच्चाउने काम गरे कडा कदम चाल्ने जनाएको छ ।