देशका विभिन्न भेगमा आज वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।
यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।
विभागले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको अनुरोध छ।
हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।