निर्वाचन आयोगले सोध्यो चलचित्र विकास बोर्डका अध्यक्ष केसीलाई स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले अध्यक्ष केसीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीत भएकाले केसीलाई स्पष्टीकरण सोधेको जनाएको छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, तपाई चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?

तपाईँ राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकाले तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारबाही किन हुनु नपर्ने हो?

तपाईँ सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रूपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गर्नुभएको ठहर भएमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाही समेत हुनसक्ने भएकोले तपाईँ उपर उक्त कारबाही किन हुनु नपर्ने हो?