व्यवसायीले ७ बुँदे माग राख्दै बुझाए अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र
काठमाडौं। तनहुँका उद्योगी, व्यवसायीले अर्थमन्त्री र गभर्नर समक्ष ज्ञापनपत्र बुझाएका छन्। तनहुँ उद्योग वाणिज्य संघको नेतृत्वमा बिहीबार उद्योगी, व्यवसायीको टोलीले ७ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत् अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा कर्जाको ब्याजदर एकल अंकमा हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाले विभिन्न शीर्षकमार्फत् सेवा शुल्कका नाममा कुनै पनि शुल्क लिन नपाउने, कर्जाको ब्याजदर पुनर्संरचना गर्नुपर्ने, विगतमा मौद्रिक नीतिमार्फत् दिएको छुट कार्यान्वयन हुनुपर्ने लगायत माग गरिएका तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए।
ऋणीको उद्योग, व्यापार, व्यवसायको सम्पूर्ण नगद कारोबार चल्ती खातामार्फत् गर्ने व्यवस्था भएकोमा नगद कारोबार कर्जा खातामा नै जम्मा गर्ने व्यवस्था हुनुपर्ने, कर्जा लगानी गरेपश्चात कम्तीमा एक वर्षसम्म ऋणीको सहमतिबिना ब्याजदरमा कुनै पनि वृद्धि गर्न नहुने उनीहरूको माग छ। बैंक तथा वित्तीय संस्थाले अनुचित रूपमा बढाएको लिलामी प्रक्रिया तत्काल स्थगित हुनुपर्ने माग गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य वृषराज श्रेष्ठले संयुक्त रुपमा प्रजिअ अर्याललाई सो ज्ञापनपत्र बुझाएका हुन्।
व्यावसायिक क्षेत्रमा देखिएको आर्थिक अन्यौलता र बैंक तथा वित्तीय समस्याका सम्बन्धमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने उद्देश्यले संघमा आवद्ध २९ संघ संस्थाको ऐक्यबद्धतामा ज्ञापनपत्र बुझाइएको संघका प्रथम उपाध्यक्ष इमकुमार मल्लले जानकारी दिए।
ज्ञापनपत्र बुझ्दै प्रजिअ अर्यालले व्यवसायीको मागसहितको ज्ञापनपत्र तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने बताए।
तनहुँ उद्योग वाणिज्य संघसँगै चेम्बर अफ कमर्स तनहुँले ज्ञापनपत्र बुझाएको चेम्बरका वरिष्ठ उपाध्यक्ष कविराज श्रेष्ठले जानकारी दिए।
यसअघि जिल्लाभरका करिब चार सय व्यवसायीले हातहातमा प्लेकार्डसहित शान्तिपूर्ण विरोध र्याली प्रदर्शन गरेका थिए।रासस