नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण खेल हुँदै
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले आज बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५:०० बजे सुरु हुनेछ।करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा रहेको छ ।
नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले प्रि(म्याच कन्फरेन्समा पाकिस्तानविरुद्ध जित निकाल्न टिमको मनोबल उच्च रहेको बताएका छन् ।
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।
पाकिस्तान पनि नेपाललाई हराएर अन्तराष्ट्रिय फुटबलमा फर्कन चाहन्छ ।
पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरले प्रि-म्याच कन्फरेन्समा नेपालविरुद्ध राम्रो खेल पस्कनेमा आफु आशावादी रहेको बताएका थिए।
पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो ।
नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हुन् ।
नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जितेको छ ।
पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।
नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो। जुन खेलमा नेपालले पाकिस्तानसँग २-२ गोलको बराबरी खेलेको थियो ।
ढाकामा भएको उक्त खेलमा नेपालका लागि गणेश थापा र मान बहादुर मल्लले एक एक गोल गरेका थिए ।
नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो ।
साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । नेपालका लागि विमल घर्तिमगरले एक गोल गरेका थिए ।