देशभर ११ हजार ५४३ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर एकै चरणमा मतदान हुँदैछ।

प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार ५ सय ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार १ सय ८९ पुरुष र २ सय २५ महिला गरी कूल २ हजार ४ सय १२ तथा समानुपातिकतर्फ १ हजार १२ पुरुष र १ हजार १ सय ८७ महिला गरी कूल २ हजार १ सय ९९ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रदेश सभाको प्रत्यक्षतर्फ २ हजार ९ सय ४३ पुरुष, २ सय ८० महिला र एक अन्य गरी कूल ३ हजार २ सय २४ तथा समानुपातिकतर्फ २ हजार १ सय ९७ पुरुष र १ हजार ५ सय ११ महिला गरी कूल ३ हजार ७ सय आठ उम्मेदवार प्रतिस्पर्धामा छन्।

देशभर १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य गरी कूल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम छन्।

आयोगले मतदाता सूचीमा नाम समावेश भएका यही मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था गरेको छ।