प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कुन पार्टीबाट कति जना महिला निर्वाचित (नामावलीसहित)
काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ठूला दलको तर्फबाट उम्मेदवारी दिएका अधिकांश महिलाले हार बेहोर्नु परेको छ । यसअघि २०७४ को निर्वाचनमा प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट सासंद बनेकाहरु समेत यसपटक पराजित भएका छन् ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमा हालसम्म ९ जना मात्र महिला निर्वाचित भएका छन्। मत गणना भईरहेको सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरी सबैभन्दा अन्तिममा जित्ने महिला उम्मेदवार हुनुहुन्छ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ २ हजार ४ सय १२ उम्मेदवार मध्य २ सय २५ जनामात्र महिला उम्मेदवार थिए । जसमध्य प्रमुख राजनीतिक दलबाट २५ जना महिलालाई उम्मेदवार थिए ।
देशभरमा नेपाली कांग्रेसले ५, नेकपा एमालेले ११ र नेकपा माओवादीले ८ र एकिकृत समाजवादीले १ जना मात्र महिलालाई प्रत्यक्ष तर्फ टिकट दिएको थियो। जसमध्य नेकपा एमालेबाट विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वाला कुमारी साह र भगवती चौधरी गरि ४ जना निर्वाचित भएका छन् ।
यस्तै, सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसबाट सीता गुरुङ र माअेवादीबाट रेखा शर्मा गरि १र१ जना निर्वाचित भएका छन् ।
यस्तै, नेपाली राजनीतिमा भर्खरमात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र डा. तोसिमा कार्की गरि २ जना निर्वाचित भएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट रुञ्जीता श्रेष्ठ चौधरीले जित हासिल गर्नुभएको छ ।
२०७४ को निर्वाचनमा प्रत्यक्ष तर्फ ६ जना महिला निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा भन्दा यो निर्वाचनमा केही बढी महिला निर्वाचित भएपनि यो संख्या विगतको तुलनामा निकै न्यून हो।
२०४८ सालमा भएको निर्वाचनमा ७ र २०५६ सालमा १२ जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए । तर, यो निर्वाचनमा यसअघिको निर्वाचनमा निर्वाचित भएका समेत असफल भएका छन् ।
नेपाली कांग्रेसबाट सांसद भईसकेका पूर्वउपसभामुख पुष्पा भुषाल, सुजता कोइराला र चित्रलेखा यादव पराजित भएका छन् । यस्तै, नेकपा एमालेकी निवर्तमान सासंद निरुदेवि पाल, मञ्जु शर्मा, शान्ता चौधरी र कोमल ओलीले हार व्यहोर्नु परेको छ ।
यस्तै, सभामुख समेत भईसक्नु भएकी नेकपा माओवादी केन्द्रकी ओन्सरी घर्ती मगर, पम्फा भुषाल, अञ्जना विशंखे र बिना मगरले आफ्रनो पक्षमा मत ल्याउन सकेनन् ।
यस्तै एकिकृत समाजवादीकी एक मात्र महिला उम्मेदवार निवर्तमान सासंद राम कुमारी झाँक्रीले पनि जित हासिल गर्न सक्नु भएन । यस पटकको निर्वाचनमा पनि कम महिला निर्वाचित हुँदा संसदमा महिला प्रतिनिधित्व विगतमा भन्दा पनि कमजोर हुने देखिन्छ ।
संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने व्यवस्था गरेको छ ।
प्रत्यक्षमा धेरै महिलाले नजित्ने, स्वतन्त्र उम्मेदवार र थ्रेस होल्ड समेत नपुग्ने दलबाट धेरै उम्मेदवार विजयी हुँदा संसदमा महिला प्रतिनिधित्व ३३ प्रतिशतसमेत नपुग्ने अवस्थामा दलहरूले फेरि पनि समानुपातिकबाट यसलाई भरपाई गर्नुपर्ने देखिन्छ ।