बाजुरामा १४ हजार २ सय ९० मतगणना हुँदा पाण्डेको अग्रता कायमै
काठमाडौं। बाजुरा प्रतिनिधि सभामा काँग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ।
जसमा काग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेको ८ हजार ९५ रहेको छ भने नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाको ६ हजार १ सय ९५ मत पुगेको छ।
यसअघि बाजुराको हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि विवाद भएर गणना रोकिएको थियो।
मतगणना रोकेर भएको छलफलमा बाकसमा भेटिएका सबै मत गन्ने सहमति भएपछि मतगणना सुरु गरिएको थियो।
मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार दुई हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा दुई हजार ३४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिको आग्रहमा गणना रोकेको जानकारी दिए।
४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गरेको थियो। तर बुधबार निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेको थियो।