रवि लामिछानेलाई पार्टीको सभापतिबाट हटाउन आयोगमा उजुरी

काठमाडौं।  रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट उनैलाई हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। उनलाई पार्टीको नेतृत्वबाट हटाउन माग गरी उजुरी दर्ता भएको हो।

गैरनेपाली नागरिक लामिछानेले गैरकानूनी ढंगबाट दल दर्ता गरेकोले खारेज गर्नु पर्ने माग गरी युवराज पौडेलले उजुरी दिएका छन्।

पौडेलले लामिछानेको नागरिकता गैरकानूनी भएको र यस्तो नागरिकताधारीको नाममा दल दर्ता कायम हुन नसक्ने दाबी गरी आयोगमा निवेदन दिएका हुन्।

अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग नगरेको र उताको त्याग गरेपछि फेरि पुरानै नागरिकता प्रयोग गरेको आरोप उजुरीमा लगाइएको छ।

नागरिकताकै विषयमा आयोगले सोधेको स्ष्टीकरणमा लामिछानेले पुरानै नागरिकताबाट पासपोर्ट बनाएको जवाफ दिएपछि उनको नागरिकता विवाद बढेको हो।

हाल उनको नागरिकताको विषयमा गृह मन्त्रालयले पनि अनुसन्धान गरिरहेको छ । लामिछानेको नागरिकता विवाद प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन अघि बढाएको छ ।