कांग्रेस ८९ सीटसहित पहिलो दल बन्दा,सरकार गठनको साँचो सीके राउतको हातमा,यस्तो छ प्रतिनिधिसभाको हिसाबकिताब

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना कार्य सकिएको छ। प्रत्यक्षतर्फको मतणना यस अघि नै सकिए पनि समानुपातिकतर्फको मतगणना कार्य भने मंगलबार साँझ मात्रै सकिएको छ।

मंगलबार साँझ समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या निर्धारण गरेर पठाएको छ।

समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेले ३४, नेपाली काँग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गर्ने भएका छन्। उनीहरुले प्राप्त गर्ने सिट संख्या उल्लेख गर्दै आयोगले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने ७ वटै दललाई पत्राचार गरेको छ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए।

उनका अनुसार ति दलले अबको ३ दिन भित्र आफुले प्राप्त गरेको सिट संख्या अनुसारको उम्मेदवारको नामावली आयोगको निर्देशिकामा टेकेर तोकिएको कलस्टर अनुसार पेश गर्नुपर्नेछ।

पेश गरेको सूची नमिलेमा आयोगले थप २ दिनको समयसिमा दिएर दललाई सच्याउने मौका दिनेछ । त्यसपछि मात्रै आयोगले निर्वाचित उम्मेदवारको नामावली घोषणा गर्नेछ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको सिट संख्या आधारमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिटसहित जम्मा ८९ सिट प्राप्त गर्दै सबैभन्दा ठुलो दल नेपाली काँग्रेस बनेको छ।

यस्तै दोस्रोमा नेपाल एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटसहित जम्मा ७८ सिट प्राप्त गर्दै दोस्रो दल बनेको छ । यसरी हेर्दा काँग्रेस भन्दा एमालेले १२ सिट कम प्राप्त गरेको छ।

नेकपा माओवादी केन्द्रले भने प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरेर जम्मा ३२ सिट प्राप्त गर्दै प्रतिनिधि सभामा तेस्रो दल बनेको छ भने यस पटकको प्रतिनिधि सभामा मात्रै सहभागि भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ १३ सिट गरेर जम्मा २० सिट प्राप्त गर्दै चौथो दलका रुपमा उदाएको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ७ सिट गरेर जम्मा १४ सिट प्राप्त गर्दै पाचौँ दल बन्न सफल भएको छ । प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ५ गरेर जम्मा १२ सिट प्राप्त गर्दै जनता समाजवादी पार्टी छैटौ दल बनेको छ ।

प्रत्यक्षतर्फ १ सिट मात्रै प्राप्त गरेको सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर ५ सिटसहित जम्मा ६ सिट प्राप्त गर्दै आफुलाई राष्ट्रिय दल बनाउन सफल भएको छ।

जनमत पार्टीसहित यस पटक संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेको संख्या ७ पुगेको छ । २०७४ सालको निर्वाचनमा ५ दल मात्रै राष्ट्रिय दल बन्न सफल भएका थिए ।

बाँकी ६ दलले भने समानुपातिकतर्फ थ्रेस होल्ड नकटाएका कारण प्रत्यक्षतर्फ मात्रै जित हासिल गरेका छन्। जसमा प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेर समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादी प्रतिनिधि सभामा सातौँ दलका रुपमा प्रस्तुत भएको छ । यद्यपी थ्रेस होल्ड कटाउन नसकेका कारण उक्त दलले राष्ट्रिय दल बन्ने मौका भने गुमाएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४ सिट, नागरिक उन्मुक्ति पार्टी ३ सिट, राष्ट्रिय जनमोर्चा १ सिट, नेपाल मजदुर किसान पार्टी १ सिटसहित संसदमा सहभागि हुने भएका छन् । स्वतन्त्रबाट निर्वाचित ५ जना पनि यस पटक प्रतिनिधि सभामा सहभागि हुदैँछन् ।

जनमत पार्टीको समर्थन पाउने वित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनमा सहज

यसैबीच सीके राउत नेतृत्वको जनमत पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने वित्तिकै नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि सहज भएको छ। नेपाली काँग्रेसले प्राप्त गरेको ८९ सिट, नेकपा माओवादी केन्द्रको ३२ सिट, नेकपा एकीकृत समाजवादीको १० सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट, राष्ट्रिय जनमोर्चाको १ सिट जोडेर १३६ सिट पुगेको छ।

यसैमा जनमत पार्टीको ६ सिट जोडिने वित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनका लागि १४२ सिट पुग्नेछ। १३८ सिटमा नै सत्ता गठबन्धनलाई बहुमत पुग्ने भएकाले बहुमत पुगेर पनि ३ सिट थप हुनेछ।