नेप्से परिसूचक ३१.९७ अंकको गिरावट

काठमाडौँ। साताको पहिलो दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३१.९७ अंक घटेर बन्द भएको छ ।

गत बुधबारको तुलनामा नेप्से परिसूचक १.६७ प्रतिशत घटेर १८८५.३१ विन्दुमा बन्द भएको छ । घटेको बजारमा केही लघुवित्त कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

यस दिन सेयर मूल्य सर्वाधिक बढेका १० धितोपत्रमध्ये ६ वटा लघुवित्त कम्पनी छन्। सीवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ भने समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्ध भएको छ।

त्यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि प्रतिकित्ता ६.०८ प्रतिशतले वृद्धि भएको छ। आज सीवाईसीको सेयर मूल्य प्रतिकित्ता एक हजार ८६८ रुपैयाँ, समीटको एक हजार ६० रुपैयाँ २० पैसा र धौलागिरि लघुवित्तको सेयर मूल्य ३७६ रुपैयाँ ६० पैसा कायम भएको छ।

नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७ रुपैयाँ ९० पैसा घटेर ७०१ रुपैयाँ ४० पैसा कायम भएको छ ।