निःशुल्क वाईफाईका कारण पर्यटकको भीड

काठमाडौं ।पूर्वी नवलपरासीको देवचुली–९ विशालटारस्थित घुमाउरी वनभोजस्थलमा वाईफाई जडान भएपछि आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ।

जाडो मौसममा वनभोज जाने समय भएकाले पर्यटकहरु आउन थालेका संस्थाका अध्यक्ष दीपक भट्टराईले बताए।

घुमाउरी वनभोजस्थलमा पर्यटकहरुलाई आकर्षित गर्न पार्कको सबै भागमा पूर्णरुपमा वाईफाई चल्ने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए।

सो स्थलमा नवलपुर जिल्लासहित बाहिरी जिल्लाबाट पनि रमाइलो गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ।

घुमाउरी सामुदायिक वन अन्तर्गतको सानो क्षेत्रमा रहेको सो स्थलमा प्राकृतिक र शान्त वातावरण भएकाले धेरै समूहहरू रमाइलो गर्न, घुम्न आउने गरेका छन्।

गतवर्ष घुमाउरी वनभोजस्थलले करिब आठ लाख रुपियाँ आम्दानी गरेको व्यवस्थापक उमा घर्तीमगरले बताए। गोरखापत्रबाट