सशस्त्रमा एकैपटक ८ हजार बढी जवानको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकै पटक ८ हजार ३ सय ८८ जवानको सरुवा गरेको छ।

जवानले राजेको प्राथमिकता अनुसार तीन वटा युनिटमध्ये एकमा सरुवा गराइएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ। सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको बताइएको छ ।

सीमावर्ती इलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा ईलाका बाहेक अन्यत्र सरुवा गरिएको छ। सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाई शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा सशस्त्र प्रहरी बलले जनाएको छ।

मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।

विगतदेखिकै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै दम्पत्तिलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ । मुख्यालयले फारम भराएर जवानहरुको ईच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक भएको सशस्त्र प्रहरी बलको दाबी छ ।

यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास मुख्यालयले लिएको भनिएको छ।

बिल्लादार तथा जुनियर अधिकृतसम्म पनि जवानको सरुवाको मापदण्ड र तरिका अपनाएर क्रमशः सरुवा गरिने सशस्त्र प्रहरी बलका सहयाक प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्रबहादुर थापाले बताए ।