संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो।

सो पार्टीका नेता कविन्द्र बुर्लाकोटीले आज बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ। आज बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ।

सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि सोही बैठकमा छलफल हुने एक नेताले बताए।गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ।