सत्ता गठबन्धनको बैठक आज बस्दै
काठमाडौं । नयाँ सरकार गठनका लागि आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदै गर्दा दलहरूले अझै नयाँ सरकार गठन र प्रधानमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन्।
बैठकले नयाँ सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने बारेमा टुंगो लगाउने छ ।
वर्तमान सत्ता गठबन्धनले नै सरकार बनाउने कसरत गरे पनि प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको दाबीले सहमति हुन सकेको छैन । आलोपालो प्रधानमन्त्री हुँदा पहिलो प्रधानमन्त्री आफु हुनुपर्ने दुवै नेताको अडान रहेको छ । अन्तिम एक वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने उनीहरुको भनाइ छ ।
शनिबार बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको थियो ।
गठबन्धनमा सहमति जुट्न नसकेपछि दलहरु गठबन्धन बाहिरका दलहरुसँग मिलेर सरकार गठन गर्ने कसरतमा जुटेका छन् ।
तर, दाहाल र देउवा दुबैले पहिलो प्रधानमन्त्री आफु हुनुपर्ने अडान लिएपछि सत्तारुढ गठबन्धन नै विघटन हुने हो कि भन्ने आशंका समेत थपिएको छ ।