सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनक
काठमाडौं। सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनक छाएको छ ।
भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले गत शुक्रबार सार्वजनिक बिदा समेत दिएको थियो । हरेक वर्ष पुस महिनामा यहाँ भुवा पर्व मनाइने गरिन्छ । भुवा खेला सुदूरपश्चिममा सात दिन भन्दा बढी समयसम्म खेल्ने गरिन्छ । युद्धकालीन अभ्यास संस्कृतिका रूपमा तामझामका साथ यो पर्व मनाइने गरिन्छ ।
ढाल तरवारसहित नाचिने भुवा पर्व बझाङका केही स्थानमा समेत सुरु भएको छ । कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने सोही पर्व प्रत्येक वर्षको पौष औंसीका दिन मसाल (राँको) सल्काएर सुरु हुने गर्दछ । जिल्लाका १२ वटा पालिकाका २० भन्दा बढी गाउँमा यो पर्व मनाउने गरिएको बताइन्छ । कतिपय गाउँका पुरुषहरु रोजगारीको खोजीमा भारत पलायन भएका तथा गाउँ छोडेर विदेश गएकोले धेरै गाउँ यो वर्ष भुवा पर्व प्रभावित भएको छ।
गाउँका सबै जसो पुरुषहरु भारततिर गएका छन्, भुवा नाच्ने मान्छे नै छैनन् , जसले गर्दा हाम्रो गाउँमा राँको नहालेको थलारा गाउँपालिका-९ का बमबहादुर सिंहको भनाइ छ । यो गाउँमा लामो समयदेखि भुवा पर्व नमनाएको उहाँले बताउनुभयो । युवाहरु रोजगारीको खोजीमा भारत तथा विभिन्न देशमा गएका कारणले सोही पर्व नमनाइएको उहाँको तर्क छ । बुढापाकाहरु पनि गाउँमा खास्सै नभएको उहाँ बताउनुहुन्छ । गाउँमा भुवाको माडा हाल्ने (भुवाको भाका भन्ने तथा भट्याउने ) मान्छे समेत नभएको र नयाँ पुस्ताका युवाहरुलाई नआउने भएका कारण भुवा पर्व नमनाइएको उहाँको तर्क छ ।
औंसीका दिन गाउँका प्रत्येक घरबाट बाल्नका लागि मुढा माग्ने र राति भुवाखाडा (भुवा नाच्ने चौर) मा ठूलो आगो बालेर हातमा राँको सल्काएर भुवा नाचको सुरुवात गर्ने गरिन्छ । राँको नहालीकन यसको सुरुवात भएको मानिदैन । गाउँमा पुरुषहरु नभएकै कारण भुवाको लागि प्रख्यात मानिने सिरेटा, भण्डार, कोटदेवल, रनाडा, भिनमड लगायत दजर्नौ गाउँमा यसपाली यो पर्व नमनाइएको त्यहाँका स्थानीयहरुले बताएका छन् ।
गाउँलेहरुले भुवा नाच नखेलेको १०/१२ वर्ष पुग्न लागेको थलारा ९ सिरेटाका स्थानीय विजय जोशीले बताउनुभयो । गाउँमा बुढापाकाहरुले चाँसो दिएपनि युवाहरुलाई यस विषयमा खास्सै चाँसो नदिएको उहाँको भनाइ छ । जसका कारण पछिल्लो समयमा भुवा नाच नदेखेको उहाँको तर्क छ । भुवा नाच खेलिने गाउँहरुमा भने निकै रमाईलो भएको छ । बाजाको तालमा नाङ्गो खुकुरी, तरवार र ढालसहित पुरुषहरुले प्रर्दशन गरेको युद्धकला हेर्नका लागि केही गाउँहरुमा भने दर्शकहरुको भीड भाड भएको छ । भुवाको रौनकले महिला र बालबालिकादेखि वृद्धवृद्धा सबै जनालाई तानेको छ ।
युद्धको समयमा कौरव र पाण्डव विच भएको भिडन्तको कथालाई एक समूहले लयात्मक शैलीमा भट्याउने र अर्को समूहले हात र खुट्टाको चालमा नाच्ने गर्दछन । कुरुक्षेत्रको युद्ध भन्दा पहिले पाण्डवहरु बनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेका थिए । त्यहाँ विकास निमार्णका काम गर्नका लागि स्थानीयले सहभागिता जुटाएका थिए । विभिन्न गाउँमा भुवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको कथाहरु समेत यस नाचमा प्रस्तुत गर्ने गरिन्छ। भुवाको विषेश आर्कषर्णको रुपमा चाली नाच, ठाडो भस्सो भारी खेल जस्ता नाच र गानहरु पर्दछन ।
सोही पर्वमा लयात्मक शैलीमा भट्याउने मान्छेहरुको भने गाउँमा निकै कमी भएको जयपृथ्वी नगरपालिका-१० का स्थानीय समाजसेवी विष्णु भत्त जोशी शास्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो,पहिला गाउँ खाली हुँदैन थिए । सुबै गाउँमा भुवा नाच खेल्थे । एक गाउँबाट अर्को गाउँसम्म सबै मिलेर गाउँ गाउँमा भुवा खेल्दै जाने गर्दथ्यौं । गाउँमा भुवा खेल्दा जुन गाउँ पुग्यो त्यही गाउँका दाजु भाइहरुले ठूलो बोका र खसी बाख्रा दिने चलन थियो । गाउँका ठालु बड्याउडीले भनेको सबै मान्थ्य । अहिले त एकले अर्कोको भनेको नै मान्दैनन् । राजनीति खिचातानीका कारण छिमेकी-छिमेकीसँग समेत बोलचाल छैन । अनि कसरी यस्ता पर्वको संरक्षण हुन्छ ?
अहिले त भुवा नाच खेल्न एक गाउँबाट अर्को गाउँ पुग्दासम्म जाँड रक्सी सेवन गरेर भुवा नाच नै नहुने र हानाहान कुटाकुट र झैझगडा हुने खतरा रहेको उहाँको तर्क छ । अब भुवा पर्वको संरक्षण गर्नका लागि स्थानीय सरकारले चासो दिनुपर्ने उहाँको भनाइ छ ।