शेयर बजारमा ‘पम्प एण्ड डम्प’ को खेल

काठमाडौं । अघिल्लो साल भदौ २ गते हालसम्म कै सर्वाधिक उच्च बिन्दु ३२०० मा पुगेर ओरालो लागेको नेप्से परिसूचकले नयाँ सरकार बन्ने बित्तिकै फेरी उकालो यात्रा सुरु गरेको छ। त्यसो हुनुमा मुख्य दुई कारण छन् स् एक, त्यसताकाका अर्थमन्त्री विष्णु पौडेल नै फेरी अर्थमन्त्री बन्नु र अर्को, प्रचण्ड नेतृत्वको सरकारले पुँजी बजार लगायत सम्पूर्ण आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राख्ने पहिलो क्याबिनेट निर्णय गर्नु।

यहाँ प्रश्न उठ्छ-के शेयर बजारमा उल्लास छाउन उल्लेखित आधारहरू नै पर्याप्त छन् रु प्रचण्ड बालुवाटार र पौडेल अर्थ मन्त्रालय छिर्दा के त्यस्तो नयाँ घटना भयो जसले गर्दा नेपालको अर्थतन्त्रलाई बलियो टेवा पुग्छ रु यो प्रश्नको जवाफ कसैसँग छैन। तर, नेप्से परिसूचक तीव्र गतिमा उकालो लागिरहेको छ।

अर्थमन्त्रीले जे जस्तो दाबी गरे पनि वास्तवमा सबै कारोबारहरू ठप्प छन्, अहिले । अर्थतन्त्र चलायमान बन्न नसक्दा अब भोलि कस्तो जोखिमको सामान गर्नुपर्ने हो भन्ने चिन्ता सर्वत्र छ । अघिल्लो सरकारले कडा आर्थिक नीति अवलम्बन गर्दा समेत मुलुकको अर्थतन्त्रमा अपेक्षाकृत सुधार हुन सकिरहेको छैन। मुलुक श्रीलङ्काको बाटोमा हिँड्ने हो कि भन्ने चिन्ता अझै कायमै छ। हालैको रिपोर्टले चालु खर्च समेत धान्न नसक्ने गरी राजश्व सङ्कलन कमजोर भएको देखाएको छ।

सन् २०२३ मा विश्वव्यापी आर्थिक मन्दी अझ गहिरो हुने प्रक्षेपण विश्वबैंक र आइएमएफले गरेको अवस्था छ। तर, पटक पटक परीक्षित (टेस्टे) प्रचण्ड र पौडेललाई देखाउँदै शेयर बजारमा उछाल ल्याउने काम भएको छ। हो न हो अब त साञ्चै बजार बढ्छ कि क्याहो भन्दै सामान्य लगानीकर्ता समेत उत्साहित बन्न थालेको देखिएको छ।

छैन दङ्ग पर्ने आधार

अघिल्लो साता सम्म टाउकोमा हात राखेर बसेका पुँजी बजारका लगानीकर्ता यो साताको सुरुवात देखी नै दङ्ग छन् । हुन पनि अचम्मलाग्दो गरी नेपाली पुँजी बजारमा उच्च अङ्कको वृद्धि देखिन थालेको छ। कारोबार रकम पनि क्रमशः बढ्दो छ । यही साता पहिलो कारोबार सोमबार ५६ दशमलव ८७ अङ्कले बढेको बजार मङ्गलवार ५९ दशमलव ८६ अङ्कले बढ्यो।

लामो समयदेखि अक्कल झुक्कल मात्र एक अथर्व नाघेको नेप्सेको कारोबार सोमबार दुई अथर्व काट्यो भने मङ्गलवार त पौने ४ अथर्व नै पुग्यो। जसले कथित शेयर विश्लेषकहरूलाई ठाडो धर्सो देखाउँदै बजारले लय समातेको दलिल गर्ने आधार तयार गरिदिएको छ। यो स्थितिमा एउटा स्वाभाविक प्रश्न उठेको छ – के बजारले लय समाते कै हो त?

जवाफ सटिक छ। त्यो होइन। किन होइन भने यी दुई दिनमा अर्थतन्त्रमा सुधार हुने कुनै ठोस तथ्यगत सङ्केत देखा परेकै छैन। त्यति हो, व्यापारीलाई भेट्दा र पदभार ग्रहण गर्दा प्रधानमन्त्री तथा अर्थ मन्त्रीले बिकाऊ कुरा मात्र गरेका हुन्। शेयर कारोबारीलाई भेट्दा मिठो कुरा गरेर अब म आएँ ढुक्क हुनुस् मात्र भएका हुन्।

हामीले बुझ्नुपर्ने कुरा के हो भने वित्त नीति र मौद्रिक नीति बिचको फरक शायदै थाहा होला अहिलेका अर्थमन्त्रीलाई। त्यस्तै, सूक्ष्म र बृहत् अर्थशास्त्रकोमा आधारभूत अन्तर हुन्छ भन्ने कुरा पनि सुनेका मात्रै होलान्। बस्, उनी सबैको प्यारो बन्न जान्ने मान्छे हुन्। तर, बजार यति निर्दयी हुन्छ कि त्यो भावना चल्दैन। बस्तुगत अवस्था त्यसलाई सपोर्ट गर्ने खालको छैन।

अहिले बजार त्यस कारण अनुमानको भरमा बढाइँदै छ कि विगतमा विष्णु पौडेल अर्थमन्त्री रहेका बेला नेप्सेले ऐतिहासिक बिन्दु छोएको थियो। त्यसो त यस्ता अनुमानहरूका ठोस आधार कसैले प्रस्तुत गर्न सक्दैन । फेरि पुँजी बजारजस्तो अत्यन्तै संवेदनशील विषयमा अति अनुमानको आधारमा कुरा गर्नु पनि ठिक हुँदैन ।

त्यसैले अहिले देखिएको वृद्धिलाई स्वाभाविक मान्न नसकिने तर्क संशयकर्ताहरूको छ । उनीहरूले दाबी गरिरहेका छन् –यो वृद्धि ‘पम्प एण्ड डम्प’ बाहेक अरू हुनै सक्दैन । त्यसैले अर्को ढङ्गले बुझ्न खोजियो भने गल्ती हुन्छ । उनीहरूले थप चेतावनी समेत दिएका छन् – पुँजी बजार यति निर्मम हुन्छ कि यसले कुनै गल्तीलाई क्षमा दिँदैन । सही कुरा बुझेनन् भने साना लगानीकर्ता नराम्ररी डुब्छन् ।