ओली र माधव नेपाल मिलाउने प्रचण्डको प्रयास असल,पार्टी एकताको हल्लाबारे दुवै दल अनविज्ञ
काठमाडौं । दुई दिनयता एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताका लागि निकै प्रयास भए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएपछि नेता नेपाल एक्लो बन्नुभएको छ।
नेपालले आफूलाई एक वचन नसोधी प्रचण्ड बालकोट पुगेर प्रधानमन्त्री बनेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि सार्वजनिक गरिसक्नुभउको छ।
त्यसपछि नेपालसँग प्रचण्डले हात्तीवनमा एकपटक भेट गर्नुभएको थियो। प्रचण्डले ओलीसँग नेपालको भेट गराउन निकै प्रयास गर्नुभयो। आफ्नै निवास खुमलटारमा ओलीलाई दुई घन्टा कुर्न लगाउनुभयो।
तर माधव नेपाल कोटेश्वरस्थित आफ्नो निवासबाट बाहिर निस्कनुभएन। बरु ओली खुमलटारमा पुगेको दिन अपराह्न ४ बजे नेपालले कांग्रेस नेता रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग शान्तिनगरस्थित पार्टी कार्यालयमा भेटघाट गर्नुभयो।
नेपाललाई त्यसअघि एमाले नेताहरु विष्णु पौडेल र महेश बस्नेतले कोटेश्वरस्थित निवासमै पुगेर भेट गर्नुभएको थियो। दुवैले अध्यक्ष ओलीसँग भेटेर सरकारमा सहभागी हुन र पार्टी एकताका लागि छलफल गर्न प्रस्ताव गर्नुभयो।
तर नेपाल तयार हुनुभएन। बरु उहाँ एकीकृत समाजवादीका भूगोलतर्फका नेताहरूसँग जुम मिटिङमा बस्नुभयो। जुम मिटिङमा अध्यक्ष ओलीले आफू सरकार गठन हेरेर बस्ने भनेको तर अन्तिममा आफूहरुलाई बताउनुभएको थियो ।
दुई वर्षअघि ओलीसँग जुन विषयमा विरोध गर्दै पार्टी नै विभाजन गरेर नयाँ पार्टी खोलेको हो, त्यसको औचित्य पुष्टि नभई एमालेमै फर्किन नेपाललाई त्यति सहज नभएकाले पनि उहाँले ओलीसँग भेटवार्ताका लागि तयार नहुनुभएको हो।
आफूलाई हेपिएको भन्दै पार्टी फुटाएर जानुभएका माधव नेपालले अहिलेसम्म आफूले पार्टी फुटाउनुभएको औचित्य पुष्टि गर्नुभएको थियो ।
खासगरी एमाले निकट नेताहरुले एकीकृत समाजवादीलाई आफ्नो पार्टीसँग मर्ज गर्ने, माधव नेपाललाई राष्ट्रपति बनाउने जस्ता प्रचार गरेपछि नेता नेपाल सशंकित हुनुभएको छ ।
एमालेको रणनीति जसरी पनि माधव नेपाललाई कमजोर देखाउने र पार्टीका सांसद सुरक्षित नभएको भ्रम फैलाउने भएपछि बिहीबार एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेसँग पार्टी एकताबारे कुनै छलफल नै नभएको प्रस्टीकरण दिनुपरेको थियो । त्यसपछि एमाले प्रचार संयन्त्र अलि सजग भएको हो ।
शुक्रबार बिहान एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि एकीकृत समाजवादी र आफ्नो पार्टीका विषयमा बाहिर प्रचारमा आएका कुरामा सत्यता नभएको भन्दै अहिले सरकारको समर्थनको दायरालाई फराकिलो बनाउने स्पष्ट पार्नुभएको छ।
उहाँले एकपटक पार्टीले भोगिसकेको पीडाबारे आफूहरू राम्रो जानकारसमेत रहेको भन्दै तत्काल एकीकृत समाजवादीसँग एकता नहुने संकेत पनि गर्नुभएको छ ।