सेयर बजार १६१ अंकले बढ्यो,१० अर्बमाथिको कारोबार
काठमाडौं। सेयर बजारका लागि यो साता निकै उल्लासमय देखिएको छ । सोमबारदेखि बिहीबारसम्म जम्मा ४ दिन मात्र खुलेको बजारमा नेप्से सूचक १६१ अंकले बड्दै २०३० को हारहारीमा पुगेको छ भने १० अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यससाता नेप्से सूचक १६१ अंकले बढ्दै २०२९ विन्दुमा पुगेको छ । जुन विन्दु तीन महिनापछिकै उच्च हो । गत अगष्ट २६, २०२२ मा २०२२ अंकमा रहेको नेप्से सूचक त्यसयता निरन्तर घट्दै १८३७ अंकसम्म झरेको थियो । यद्यपि, पछिल्लो साता सेयर बजारमा आक्रामक वृद्धि हुँदै एक किसिमको क्रान्ति नै हुन पुगेको छ ।
अघिल्लो हप्ताको बिहीबार अर्थात् डिसेम्बर २२ मा ०.०११९ अंकले घट्दै १८६७.२३ विन्दुमा अडिएको नेप्से सूचक डिसेम्बर २९ सम्मा १६१ अंकले बढ्दै २०२९.०३ विन्दुमा पुगेको छ । यस साताको बुधबार ११.८०६३ अंकले बाहेक अन्य तीन दिन नै नेप्से सूचक उच्च अंकले वृद्धि भएको छ ।
सफलताको श्रेय अर्थमन्त्रीलाई
उसो त यस साताको अनपेक्षित नेप्से सूचकको वृद्धिलाई नयाँ सरकार र अर्थमन्त्रीसँग जोडेर बजारले हेरेको छ । तीनै तहको निर्वाचन सम्पन्न भएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेसँगै अर्थमन्त्रीमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेल आएका छन्।
तेस्रोपटक पुनः अर्थमन्त्रीकै रुपमा अर्थ मन्त्रालयमा पौडेलको प्रवेश भएसँगै सेयर लगानीकर्ताहरु उत्साहित हुँदा बजारले कोल्टे फेरेको विश्लेषण गरिएको छ ।
यद्यपि, मुलुकमा अझै विद्यमान तरलता संकट, उच्च ब्याजदर, मार्जिन लेन्डिङको नियन्त्रित सीमाका कारण सेयर बजारको आशातीत सफलता हासिल हुनेमा बजारको शंका कायमै रहेको छ ।