बालकोटको बार्दलीमा घाम ताप्दै अध्यक्ष ओली र गृहमन्त्री रविबीच भेटवार्ता
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका रवि दिउँसो ओलीलाई भेट्न बालकोट पुगेका हुन् । सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगो लागिनसकेका कारण छलफल गर्दै आएका छन्। ओलीसँगको भेट पनि मन्त्रालयको भागबण्डालगायत विषयमा केन्द्रित भएको स्रोतले बताएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सत्ता गठबन्धनको नीति तथा कार्यक्रम र जनतालाई डेलिभरी दिने प्रक्रियाबारे शीर्ष तहमा छलफल गरिरहेका छन् ।
बालकोटको बार्दलीमा एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबीच सबै विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ। गठबन्धनको भागबण्डादेखि सरकारको कामको तरिका र गृह प्रशासन सञ्चालनका सन्दर्भमा समेत छलफल भएको थियो ।
ओली नेपालकै सफल गृहमन्त्रीका रूपमा समेत २०५१ सालमा चर्चित भएका थिए । प्रहरीमा ३० वर्षे हटाउनेदेखि उच्च अधिकारीको बढुवामा समेत लामिछाने विवादमा पर्न चाहँदैनन् ।
सरकारको नीति तथा कार्यक्रम र यसको प्रभावकारीताकै बारेमा गठबन्धनको मुख्य घटक एमालेका अध्यक्ष तथा उच्चस्तरीय संयन्त्रका संयोजकसँग छलफल भएको सचिवालयले जनाएको छ ।
लामिछानेलाई ओलीले नै प्रचण्डसँग भेट्न पठाएर गठबन्धनबाट प्रचण्डलाई अलग गर्न निर्णायक भूमिका खेलेका थिए । गठबन्धनको तेस्रो ठूलो घटक राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका साथै राज्यसत्ताका अन्य अंगमा पाउने प्रतिनिधित्वको बारेमा शीर्ष तहमा सहमति जुटाउन लामिछाने सक्रिय छन् । बालकोटको बार्दलीमा घाम थाप्दै सबै विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् ।
रास्वपाको प्रतिनिधित्व प्रदेशमा नभएकाले संघीय सरकारमा कम्तिमा चार मन्त्रालय र उपसभामुखमा उसको दावी छ । यसमा ओली पनि सकारात्मक रहेको बताइएको छ ।