अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा छुरा प्रहार गर्ने पाँच पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंमा छुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका ३२ महादेवस्थान बागमती करिडोरमा छुरी प्रहार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

गत शनिबार साँझ २३ वर्षीय निखिल भुजेल र १८ वर्षीय अभिषेक भट्टमाथि छुरा प्रहार भएको हो। उनीहरूमाथि अपरिचित व्यक्तिहरूले छुरी प्रहार गरेका थिए।

घाइतेको उपचारको लागि कान्तिपुर अस्पताल सुविधा नगरमा पठाइएको थियो।

निखिलको छातीमुनि र कोखामा चोट लागेको थियो। उनी अहिले खतरामुक्त छन्। अभिषेक भने सामान्य घाइते छन्।

यसबारे खबर पाएपछि प्रहरी वृत्त बानेश्वरबाट टोली खटिएको थियो। उक्त टोलीले उनीहरू दुबैलाई अस्पतालमा पुर्‍याएको थियो।

प्रहरीले छुरी प्रहार गर्नेहरूको पहिचान गरी पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा महादेवस्थान बस्ने १८ वर्षीय निश्चल राई, आलोकनगर बस्ने अनिष मगर, सिनामंगल बस्ने मनोज कुँवर, रौतहटका धिरेन्द्र यादव र सिनामंगलका अनिष खत्री छन्।

प्रहरीले एउटा छुरी पनि बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरूबीच सामान्य विवादमा झडप भएको थियो। नयाँ वर्षको पूर्वसन्ध्यामा उनीहरूबीच महादेवस्थानमा भेट भएको थियो।

बाटोमा हिँड्दै गर्दा सामान्य धक्का दिएको विषयमा झगडा भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

‘सामान्य धक्का दिएको विषयमा झगडा भएको देखिन्छ। एक जनाले धक्का दिएपछि साथीहरूलाई बोलाएछन्।

हेल्मेटले पनि हिर्काएको देखिन्छ। त्यसपछि लखेटेर एक्लै पारेर समूहले छुरी प्रहार गरेको देखियो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने।

उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।