एमालेसँग कुनैपनि हालतमा एकता हुँदैन : अध्यक्ष माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकता नहुने बताउनुभएको छ। सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको भएपनि एमालेसँग अहिलेको अवस्थामा एकता हुन नसक्ने बताउनुभएको हो।
त्यस्तै अध्यक्ष नेपालले पार्टी एकताका लागि जसपालगाएतका दलसँग छलफल भइरहेको पनि बताउनुभयो ।फरक प्रसङ्गमा उहाँले समय आएपछि मात्रै सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताउनुभयो ।
राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने उहाँको भनाई छ। उहाँले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी रहेको बताउनुभयो ।
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसद्को पहिलो बैठक र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठक बस्ने स्थान र समय तय हुने उहाँले बताउनुभयो ।
प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ। त्यसअघि भोलिपल्ट पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ ।