आन्तरिक हवाईको भाडा मंगलबारदेखि लागू हुनेगरी घट्यो, कुन ठाउँ जान कति मूल्य (सूचीसहित)
काठमाडौं ।नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई भाडादर घटाउन पत्र पठाएको छ।
प्राधिकरणले मंगलबारबाटै लागू हुने गरी सम्पूर्ण वायुसेवा कम्पनीहरूलाई पत्र पठाएको हो।
नेपाल आयल निगमले आइतबार हवाई इन्धनको साविक मूल्यमा प्रतिलिटर २० रूपैयाँ घटाएको थियो।
घटेको मूल्यअनुसार मंगलबार (भोलि)बाट वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाउन पत्राचार गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
यससँगै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले नेपालमा इन्धन रिफिल गर्दा पर्ने मूल्य पनि प्रतिलिटर ३० रूपैयाँले घटेको छ।
हाल प्रतिलिटर १.६४५ डलर (२१८ रूपैयाँ) पर्दै आइरहेकोमा अब भने प्रतिलिटर १.४२ डलर (१८८ रूपैयाँ) पर्ने भएको छ।
अन्तर्राष्ट्रिय उडान गरिरहेका धेरै वायुसेवा कम्पनीहरूले पनि हवाइ इन्धनको मूल्य महँगो भयो भनेर धेरै पटक पत्र पठाएका थिए।
लामो समयपछिको प्राधिकरणको पहल र सक्रियतामा भाडादर घटेको छ।
यसले आन्तरिकसँगै अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिएको छ।
आन्तरिक हवाई इन्धनमा २० रूपैयाँले मुल्य घट्दा कम्तीमा १०.०५ प्रतिशतले भाडा घटेको छ।
हवाई इन्धनमा मूल्य घटाउनका लागि प्राधिकरणले पहल गर्दै आइरहेको थियो।
नयाँ भाडादरअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रूटमा घटेको छ।
यो रूटमा ८ सय ८८ रूपैयाँले भाडा घटेको हो। अब नयाँ भाडादरअनुसार काठमाडौं–धनगढी ७ हजार ५१० रूपैयाँ रहेको छ।
यसअघि यो रूटको भाडा ८ हजार ३९५ रूपैयाँ रहेको थियो।
त्यस्तै काठमाडौं माउन्टेन फ्लाइट ६८५ रूपैयाँले घटेको छ। योसँगै उक्त रूटको भाडादर १४ हजार २०५ रूपैयाँ पुगेको छ।
काठमाडौं–भद्रपुर भाडा ६ सय रूपैयाँ, काठमाडौं–विराटनगर ४८५ रूपैयाँ, काठमाडौं–जनकपुर २६० रूपैयाँ, काठमाडौं–भरतपुर २१५ रूपैयाँ, काठमाडौं–पोखरा ३२० रूपैयाँ घटेको छ।
त्यसैगरी, काठमाडौं–भैरहवाको नयाँ भाडादर ८ हजार २६५ रूपैयाँ तोकिएको छ। उक्त रूटको भाडादर हालको भन्दा ४४० रूपैयाँले घटाइएको हो।
काठमाडौं–नेपालगञ्जको भाडादर ६५५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको ३७० रूपैयाँ, काठमाडौं–सिमराको १८० रूपैयाँ, काठमाडौं–सिमराको १८० रूपैयाँ, काठमाडौं–सुर्खेत ६९० रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर ४११ रूपैयाँले घटाइएको छ।
यो सँगै आन्तरिकतर्फ उडान हुने सबै रूटहरूमा भाडा घटेको प्राधिकरणले जनाएको छ।