नेपाल टेलिकमले माघ २२ मा फाइभजी परीक्षण गर्ने
काठमाडौं । नेपाल टेलिकमले आउँदो माघ २२ देखि फाइभजी परीक्षण थाल्ने भएको छ । यसअघि पुस १७ गते परीक्षण गर्ने तयारी भएपनि आवश्यक आन्तरिक परीक्षण पूरा नभएकाले टेलिकमले एक महिनापछि परीक्षण गर्न लागेको हो ।
कम्पनीका प्रवक्ता शोभन अधिकारीले टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा सर्वसाधारणका लागि फाइभजी परीक्षणको सुरुवात गर्न लागिएको जानकारी दिए ।
भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका स्मार्टफोनमा फाइभजी परीक्षण हुने बताइएको छ ।
बजारमा उपलब्ध फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्न लागिएको प्रवक्ता अधिकारीले सुनाए ।
कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण भने यसअघि नै सम्पन्न गरिसकेको छ ।परीक्षण सेवा अवधिभर टेलिकमका ग्राहकले निःशुल्क फाइभजी अनुभव लिन पाउनेछन् ।