मन्त्रिपरिषद् विस्तार रोकियो, प्रचण्ड–ओलीबीच भेटवार्ता
काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।
आइतबार बिहान काठमाडौँबाट पोखरा जाँदै गरेको विमान पोखरा महानगरपालिकास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त बनेको थियो ।
दुर्घटनामा विमानमा सवार ७२ जनामध्ये ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य बेपत्ता छन् ।
भयानक विमान दुर्घटनापछि सरकारको सम्पूर्ण ध्यान उद्धारतर्फ केन्द्रित रहँदा आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता साझेदार दलका नेताहरुबीच अब थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गरिने स्रोतका भनाइ छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद्को विस्तारका साथै सभामुख चयनका विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।
पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले पुस २६ मा विश्वासको मत लिएका थिए ।
विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारमा सक्रियता देखाएका प्रचण्डले सम्भवतः सोमबार नयाँ मन्त्री थप्ने बताइएको छ ।
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा १८ मन्त्रालयले मन्त्री पाउन बाँकी छ ।
प्रचण्डले यसअघि गरेको मन्त्रिपरिषद् गठनका क्रममा ७ जना मन्त्री भएका थिए ।
जसमा तीन जनाले उपप्रधानमन्त्री र मन्त्रालयसहितको जिम्मेवारी पाएका छन् भने ४ जना विनाविभागीय छन् ।
शनिबार अनलाइन पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको बताएका थिए ।