सुदूरपश्चिम प्रदेश सभामुखका लागि आज तेस्रो पटक निर्वाचन हुँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि मंगलबार तेस्रो पटक निर्वाचन हुँदैछ ।
प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो ।
सभामुख चयन हुन नसकेपछि मंगलबार फेरि निर्वाचन हुन लागेको हो ।
यसअघि पुस २८ गते र ३० गते भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।
प्रदेश सभामुख पदका लागि नेकपा माओवादी केन्द्र बाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका छन् ।
पुस २८ गते भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एकरएक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।
पुस ३० गते भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसेको थियो ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्र का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी)का ४ र राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिनु भएको छ ।
सोमबार धनगढी पुग्नु भएकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिनु भएको हो ।