भ्रष्टाचार आरोपमा सशस्त्र प्रहरी जवानविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले नवलपरासको (बर्दघाट–सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानविरुद्ध मुद्दा दायर गरेको हो ।
सशस्त्र प्रहरी जवान मुख्तार देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो।
उक्त उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले देवानलाई सेवाग्राहीबाट सात हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
देवानले सिमा नाकाबाट व्यापारिक प्रयोजनका लागि सामान ल्याउँदा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग सात हजार घुस लिएको पुष्टी हुन आएको आयोगको भनाई छ। उनलाई जरिवानासहित कैद सजायको मागदावी गर्दै आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।