काठमाडौंको गोंगबुबाट ७३१ थान राहदानीसहित ३ जना पक्राउ

काठमाडौँ‍ । गोंगबुबाट राहदानीसहित ३ जना पक्राउ परेका छन्। गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्ट हाउसबाट ७३१ थान राहदानी प्रहरीले नियन्त्रणमा लिएको हो।

वैदेशिक रोजगार सम्बन्धी अवैध गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बसपार्कबाट टोली परिचालन भएको थियो।

उक्त स्थानमा सुक्ष्म निगरानी गर्दा केहि व्यक्तिहरू शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएको थियो । सोही आधारमा होटलका कोठाहरुमा खानतलासी गर्दा ती व्यक्तिहरूको साथमा राहदानी फेला प्रहरीले जनाएको छ।

प्रहरीले गुल्मी छत्रपुर नगरपालिका ९ का ३८ वर्षीय मिनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका ७ का ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुर बेतकोट नगरपालिका ३ का ४४ वर्षीय लोकजन खड्कालाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट विभिन्न व्यक्तिहरुका नाममा जारी भएका ७३१ थान राहदानी बरामद गरिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।