संकटमा रामकुमारी झाँक्री

काठमाडौं । एकीकृत समाजवादीकी सचिव रामकुमार झाँक्री अचेल पार्टीमा सक्रिय देखिएकी छैनन् । सचिव झाँक्रीले औपचारिकताका लागि पार्टीको बैठकमा सहभागी हुने तर केही नबोल्ने बानीको विकास गरेकी छिन् ।

कुनै बेला पार्टीका बारेमा अनेकन कुरा गरेर र लेखेर चर्चामा आइरहने झाँक्री अचेल काठमाडौं बाहिर नै रमाईरहेकी छिन् । त्यसो गर्नुको कारण चाहिँ पार्टीका नेताहरुसँग बिग्रिएको सम्बन्ध नै हो भनेर एसका नेताहरु बताउँछन् ।

सरकारमा रहेका बेलामा झाँक्रीसहितको टोलीले एमसीसी अनुमोदनका लागि भरमग्दुर प्रयास गरेका थिए । कांग्रेस महामन्त्री गगन थापा र एमसीसीका कानूनी सल्लाहकार सेमन्त दाहालसहित विभिन्न पक्षसँग छलफल गरेर झाँक्री एमसीसीको पक्षमा उभिएकी थिइन् ।

पार्टीलाई एमसीसीको पक्षमा उभ्याउनका लागि सिंहदरबार छेऊका बसेरा होटलमा थुप्रै बैठक पनि गरेकी थिइन् । मन्त्री भएर सरकारको पक्षमा बचाउ गरिररहेकी झाँक्रील सार्वजनिक रुपमा त्यतिबेला एमसीसीको पक्षमा बोलेकी थिइन् ।

त्यही भएर पार्टीको विद्यार्थी संगठनले झाँक्रीलाई कारबाही गर्न माग गर्दै जुलुस पनि निकालेको थियो । एसका सम्मानित नेता झलनाथ खनालले त्यही बेलादेखि झाँक्रीलाई छोडेका हुन् ।

एसका नेताहरुको भनाईमा त्यही बेलादेखि झाँक्रीसँग खनालको सम्बन्ध बिग्रेको थियो र त्यसपछि अहिलेसम्म पनि सम्बन्ध सुधारको प्रयास भएन । त्यतिबेला खनाल समूहको बुझाइ चाहिँ माधव नेपालसँग लागेर झाँक्रीले एमसीसीको पक्ष लिइन् भन्ने थियो । तर, मन्त्रीबाट हटेपछि माधव नेपालविरुद्ध नै लागिन ।

त्यसमाथि चुनाव हारेर आएपछि थप उग्र भइन् । झाँक्रीले पछिल्ला दिनमा त माधव नेपालबाट पार्टी नै नचल्ने बताएकी थिइन् ।

मन्त्रीबाट हटेपछि माधव नेपालसँग बोलचाल नै बन्द गरेकी झाँक्रीले चुनाव हारेपछि थप चिसो सम्बन्ध बनेका कारण झाँक्री पार्टीमा अहिले एक्लिदै गएकी छिन् । एकप्रकारले पार्टी छोड्ने वा बस्ने भन्ने दोधारमा छिन् ।

एमालेमा जानका लागि लाइन मिलाउने प्रयास पनि गरेकी छिन् । तर, एमालेमा पनि उनलाई रुचााउने अवस्था रहेको छैन । त्यसैले अहिले राजनीतिक जीवनको संकटको घडीमा झाँक्री उभिएकी छिन् ।