आज संसद बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।

शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

राष्ट्रपतिले गर्ने सम्बोधन प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।

त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्।

राष्ट्रपति भण्डारीले शनिबार अपरान्ह ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतल निवासमा चियापानको आयोजना पनि गरेकी छन्।

राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको छ। नयाँ राष्ट्रपति चयन गर्न फागुन २५ गते चुनाव हुँदैछ।