क्रान्तिकारी माओवादीले देशैभर २८ औं जनयुद्ध दिवस मनायो

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौं उपत्यकासहित देशैभर जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ ।

जनयुद्धको २८ औं दिवस मनाउने क्रममा कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गरी पार्टीका पिविएम प्रेम सुवेदी, केन्द्रीय सदस्य हरि सुवेदी र अखिल (क्रान्तिकारी)का सुदुरपश्धिम प्रदेश संयोजक पुस्कर जोशीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

सोही कार्यक्रमबाट नेकपा (बहुमत)का केन्द्रीय सल्लाहकार समितिका सदस्य डम्बर बहादुर विष्ट, केन्द्रीय समिति सदस्य बहादुर महरा लगायत दर्जन भन्दा बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

शान्तिपूर्ण रुपमा दिवस मनाइरहेको कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेपको नेकपा (क्रान्तिकारी माओवादी)मा महासचिव मोहन वैद्य किरणले एक वक्तव्य जारी गरी घोर विरोध र तीव्र भत्र्सना गर्नुभएको छ । र, गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्नुभएको छ ।

उपत्यकामा पार्टीको प्रदेश ३ ले आयोजना गरेको जनयुद्ध दिवस समारोह भव्य रुपमा सम्पन्न भएको छ । माइतीघरबाट निकालिएको शुभकामना र्‍याली पुरानो बसपार्क, भृकुटीमण्डप, पद्मोदयमोड, पुतलीसडक, बागबजार हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर समारोहमा परिणत भएको थियो ।

जनयुद्ध समारोहको नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल गौरवले २८ वटा मशाल जलाएर उद्घाटन गरेपछि औपचारिक रुपमा शुभकामना मन्तव्यको कार्यक्रम सुरु भएको थियो ।

पार्टीका पिविएम तथा प्रदेश सेक्रेटरी सुरेश श्रेष्ठको अध्यक्षता र केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महतको सञ्चालनमा सुरु भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सिपी गजुरेल गौरव, पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस राजवीर, देजमोको तर्फबाट शिव श्रेष्ठ र जवस मोर्चाको तर्फबाट अनु निरौलाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका केस पुष्कर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीतहरुको प्रस्तुति दिएका थिए भने कवि मित्रलाल पंज्ञानी लगायतका कविहरुले कविता वाचन गर्नुभएको थियो ।

त्यसैगरी मकवानपुरमा भएको जनयुद्ध दिवस समारोहलाई पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीक, पार्टी विविएम तथा प्रदेश ३ का इन्चार्ज चन्द्रहरि सुवेदीले सम्बोधन गर्नुभएको थियो ।

जिल्ला पार्टी सेक्रेटरी दिनेश बर्तौलाको अध्यक्षता र इन्चार्ज अशोक शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय जनताको समेत सहभागिता रहेको थियो । त्यसैगरी दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुमा पनि जनयुद्ध दिवस मनाइएको छ ।

प्रदेश १ मा उदयपुर र सुनसरीमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रुपमा जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दिप प्रज्वलन गरेको थियो । विराटनगर लगायत अन्य जिल्लामा पनि जनयुद्ध दिवस मनाइएको छ ।

मधेस प्रदेशमा नेकपा (क्रान्तिकारी माओवादी)ले तीनवटा जिल्लामा केन्द्रित र अन्य जिल्लामा विकेन्द्रित रुपमा जनयुद्ध दिवस मनाएको छ। सिरहाको गोलबजार, सर्लाहीको हरिवन र रौतहटको गौरमा केन्द्रित रुपमा जनयुद्ध दिवस मनाएको छ।

सर्लाहीको हरिवनमा भएको कार्यक्रमलाई प्रदेश इन्चार्ज दनुवार, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटी लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो।

त्यसैगरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पनि विभिन्न जिल्लामा जनयुद्ध दिवस भव्य रुपमा मनाइएको छ। हामीलाई प्राप्त जानकारी अनुसारका तस्बीरहरु फोटो फिचरको रुपमा यहाँ प्रस्तुत गरिएको छ।