गोंगबुमा लुटपाट र प्रहरीको भ्यानमा आगजनी गर्ने ९ जना सार्वजनिक

काठमाडौं । गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट र प्रहरीको भ्यानमा आगजनी गर्ने ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले मोबाइल पसल लुटपाट र आगजनीमा संलग्नमध्ये ९ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार सार्वजनिक गरिएका मध्य ५ जना प्रहरीको गाडी जलाउने काममा संलग्न छन् भने ४ जना मोबाइल पसल लुटमा संलग्न रहेका छन्।

एसएसपी कार्कीले सामाजिक सञ्जालका फुटेजहरुका आधारमा छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो।

पक्राउ पर्नेमा उदयपुरको बलम्ता गाउँपालिका २ घर भई तार्केश्वर नगरपालिका १०, मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घर भई टोखा नगरपालिका ३ बानियाटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङको बेँसीसहर नगरपालिका ५ घर भई तार्केश्वर नगरपालिका १० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन् ।

त्यसैगरी काभ्रेपलान्चोकको मानेडाँडा घर भई हाल ठमेल बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठानको कडी गाउँपालिका १ घर भई गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १६ गंगाहल बस्ने २० वर्षीय आशीष खड्का रहेका छन् ।

उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्र गर्न नहुने कसूरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट दिन ३ म्याद थपिएको प्रहरीले जनाएको छ।

उनीहरुसँगै संदिग्ध १० जना अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ र छानबिन भइरहेको एसएसपी कार्कीले बताउनुभयो।