क्रान्तिकारी माओवादीसहितका तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा (मशाल)गरी तीन पार्टीबीच छिट्टै एकता हुने सहमति भएको छ ।

फागुन महिनाभित्र एकता गर्ने गरी तीन पार्टीबीच छलफल भइरहेको वैद्य नेतृत्वको माओवादीका एक नेताले बताए ।

हामीले छलफल टुङ्ग्याउनेतिर गएका छौँ । गृहकार्य गरेर सबै विषयमा छलफल भयो ।

माओवाद विचारधारा मान्ने कि नमान्ने, प्रदर्शक सिद्धान्त, कार्यदिशा, कार्यनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे मूल्याङ्कन भयो’ ती नेताले भने, ‘यस्तै सङ्गठनको स्वरूपका विषयमा समेत एउटा अन्डरस्ट्याडिङमा पुगिसकेका छौँ।

त्यसलाई आधिकारिक रूप दिने संयोजन समितिको बैठक बस्दैछ।

पार्टीको नाम भने तीन पार्टीको भाव समेटिने गरी चयन गरिने ती नेताले बताए।

यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का संवाद समितिका संयोजक सिपी गजुरेलले तीन पार्टीबीच पार्टी एकता छिट्टै हुने दाबी गरे ।

सबै विषयमा सहमति भए पनि एकता गर्न मिति घोषणा गर्न मात्रै बाँकी रहेको गजुरेलले बताए ।

‘नेपालको कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनबाट अघि बढ्दै गयो ।

अहिले आएर ध्रुवीकरणतिर जान थालेको छ’ गजुरेलले भने, ‘एकातिर दक्षिणपन्थी अवसरवादीहरू विभाजित भएकाहरू एकता र ध्रुवीकरणतिर जान थालेका छन् ।

अर्को राम्रो पक्ष क्रान्तिकारी कम्युनिस्टहरू एकता र ध्रुवीकरण गर्नतिर लागेका छौँ ।

संसदवाद देश र जनताकाका निम्ति घातक छ भन्ने र वैज्ञानिक समाजवाद ल्याउनुपर्छ भन्नेहरू एकता गरेर ध्रुवीकरणमा जान थालेको गजुरेलले बताए ।

आफूहरू एकता गर्ने विषयमा धेरै नजिक भएकाले छिट्टै सुखद सन्देश सुन्न पाइने उनले बताए ।

सङ्गठनात्मक व्यवस्थापनका विषयमा समेत सहमति नजिक पुगेको र नेकपा माओवादीमा अन्य कुनै शब्द जोडेर नयाँ पार्टी गठन हुन सक्ने गजुरेलले बताए ।

तर, पार्टीको नाम के राख्ने भन्ने विषय प्राविधिक विषय भएकाले त्यसमा कुनै समस्या नहुने बताए ।

तत्कालीन नेकपा (एकीकृत माओवादी)बाट २०६९ सालमा अलग भई वैद्यले आफ्नो नेतृत्वमा नेकपा–माओवादी गठन गरेका थिए ।

वैद्यबाट समेत असन्तुष्ट जनाउँदै विप्लवसहित बास्तोलाले नेकपा गठन गरेका थिए ।

विप्लव नेतृत्वको नेकपामा विवाद भएपछि बास्तोलाले आफ्नो नेतृत्वमा नेकपा बहुमत गठन गरेका हुन् ।

बास्तोला विप्लवबाट अलग भएपछि वैद्यसँग पार्टी एकताको प्रक्रिया अघि बढाएका हुन् ।

यस्तै नेपाली नेतृत्वको मशाल मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट विभाजित भएको थियो ।

नेपाली महामन्त्री सिंहसँग असन्तुष्ट जनाउँदै आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि वैद्यसँग पार्टी एकताको प्रक्रिया अघि बढाएका हुन् ।

वैद्य, बास्तोला र नेपाली नेतृत्वको पार्टीबीच एकता गर्ने विषयमा छलफल हुन थालेपछि विप्लव नेतृत्वको नेकपा टाढिएको छ ।

पार्टी विभाजित नहुँदा विप्लव वैद्यसँग एकता गर्ने विषयमा सकारात्मक थिए ।

जब बास्तोलाले वैद्यसँग पार्टी एकताको प्रक्रिया अघि बढाए, तब विप्लव नेतृत्वको नेकपा एकता प्रक्रियाबाट टाढिएको हो ।

विप्लव सहित आहुति नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) र ऋषि कट्टेल नेतृत्वको नेकपा एकातिर मोर्चाबन्दी गर्न थालेका छन् ।

प्रायः तत्कालीन माओवादीबाट विभाजित कम्युनिस्ट पार्टी नै विभाजित भएर धेरै पार्टी बनेका थिए ।