ल्होत्से मलबाट मोबाइल लुट्ने युवक भैरहवाबाट पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौँको ल्होत्से मलमा मोबाइल लुटेको आरोपमा भैरहवाबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका ६ बस्ने १८ वर्षीय कमल कार्कीलाई लुटपाटमा संलग्न भएको आरोपमा भैरहवाबाट नियन्त्रणमा लिएको हो ।

कार्कीबाट चोरीका तीन थान मोबाइल पनि बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

चोरी गरी फरार भएका आरोपी कार्कीलाई सिद्धार्थनगर नगर पालिकाको–३ बाट पक्राउ गरी काठमाडौँ पठाएको प्रहरीले जानकारी दिएको छ ।

फागुन १ गते यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा काठमाडौँ महानगरपालिका २६ गोङ्गबुस्थित नयाँ बसपार्कमा रहेको लोत्से मलमा रहेका केही मोबाइल पसलमा लुटपाट भएको थियो ।

अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालिमा तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल लगायतका सामग्रीहरु लुटिएका थिए ।

ती घटनाका आरोपीहरुलाई प्रहरीले अहिले विभिन्न ठाउँबाट पक्राउ गर्ने क्रम जारी राखेको छ ।