पूर्वराजाले गरे दलसँग सहकार्यको प्रस्ताव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलसँग सहकार्यको प्रस्ताव राखेका छन् ।
देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्या शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने बताउँदै पछिल्ला वर्षमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेप्रति चिन्ता व्यक्त गरेका छन्।
पूर्वराजा शाहले हालै सम्पन्न आमनिर्वाचनमा युवाको सहभागिता र केही आशालाग्दा नतिजाबाट मुलुकको आगामी दिशा आँकलन गर्न सकिने बताएका छन्।