कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा सभापति देउवा, अब के गर्लान पौडेल र सिटौला ?
काठमाडौं। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आइतबार कर्णाली प्रदेशको सुर्खेत पुगेर दोहोर्याए, ‘कांग्रेसले नगुमाउनुपर्ने धेरै कुरा गुमाइसक्यो, हाम्रो सावधानी पुगेन । तर, राष्ट्रपतिको निर्वाचनमा सुखद समाचार सुन्न पाउनुहुन्छ ।
महामन्त्री शर्मा मात्रै होइन, आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा राज्यसत्ताका सबै पद गुमाएर प्रतिपक्षी कित्तामा पुगेको कांग्रेसका नेताहरू अब राष्ट्रपतिको निर्वाचनमा १० पुसकै जस्तै नाटकीय राजनीतिक बदलाव हुने विश्वास दिलाइरहेका छन् ।
राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रसहितको विगतको गठबन्धन ब्यूँतिने र कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने नेताहरूको भनाइ छ। राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस सत्तामा फर्किन सक्ने आशाले कांग्रेसजनमा उत्साह सञ्चार भइरहेको देखिन्छ ।
कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे चासो बढेको छ भने आकांक्षी नेताहरूले दौडधुप बढाएका छन् । पार्टीबाट उम्मेदवार भए राष्ट्रपति बन्न सकिने भएपछि आकांक्षा राख्ने नेताहरूको संख्यासमेत थपिँदो छ ।
राष्ट्रपतिको उम्मेदवार बन्न कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम अग्रस्थानमा छ । नेता कार्यकर्ताको तहमा उनकै नाममाथि चर्चा भइरहेको छ । तर राष्ट्रपतिको निर्वाचन नजिकिँदासम्म भने आकांक्षीहरू बढिरहेका छन् ।
अर्का नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिका लागि लबिङ गरिरहेका छन् भने नेताहरू मानबहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठले पनि आकांक्षा देखाएका छन् ।
केही नेताहरूले भने सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बन्न समेत प्रस्ताव गरेका छन् । तर, देउवा आफैँले भने कुनै रुचि देखाएका छैनन् ।
कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार बन्नेमा हालसम्म वरिष्ठ नेता पौडेल नै सबैभन्दा बलियो स्थानमा छन् । पौडेललाई सभापति देउवाले नै राष्ट्रपतिको उम्मेदवार बनाउने वचन दिइसकेका छन् भने आफ्नो नाममा अन्तरदलीय सहमति र दबाब बनाउन पौडेलको अथक मिहेनत छ ।
संसद्बाटै संवैधानिक पदहरूमा राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता रहेको आह्वान गरेका पौडेलले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि विपक्षमा रहेका दललाई समेत आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।