अबदेखि जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने
काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो ।
गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैत्रिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकामा ३२ जनप्रतिनिधि छन् ।
आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् ।
ती विद्यालयमा करिब चार सय पाँच सय विद्यार्थी अध्ययनरत छन् ।
“सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा त भन्छौँ, व्यवहारमा उतार्दैनौँ, अब जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौँ,उनले भने, “यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्छ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ ।
पहिलो चरणमा तीनदेखि पाँच वटा विद्यालयलाई बस हस्तान्तरण गरिने अध्यक्ष चुमानले बताए ।
यसैबीच आँबुखैरेनी गाउँपालिका–५ को वडा भवनमा विद्यालय स्थानान्तरण गरिने भएको छ ।
उक्त वडाको इन्द्रदेवी आधारभूत विद्यालयको भवन जीर्ण रहेकाले वडा कार्यालयमा विद्यालय स्थानान्तरण गर्न लागिएको हो ।