भारतको चाहना पुरा हुँदै: बाक्लियो सिटौलाको दौडधुप,रामचन्द्र पौडेल पनि सशंकित बन्दै ?
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस राष्ट्रपति आफ्नो दलबाटै हुनुपर्ने भन्दै रणनैतिक तयारीमा जुटेको छ । पुस १० गते वर्तमान सरकार बन्दा बनेको नयाँ सत्ता समीकरण भत्काएर भए पनि कांग्रेस राष्ट्रपति आफैसँग राख्न चाहन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति भनिरहँदा कांग्रेसको महत्वकांक्षा अझ बढेको छ । त्यसकारण राष्ट्रपतिका लागि कांग्रेसको दौडधुप जारी छ ।
कांग्रेसमा राष्ट्रपतिका उमेदवारको रूपमा यसअघिसम्म रामचन्द्र पौडेलेको सक्रियता बढी थियो । तर, पछिल्लो समय पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सक्रियता बढेको छ ।
उनी प्रधानमन्त्री निवास बालुवाटारदेखि सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीसम्म नियमित आऊजाऊमा रहेको उनी निकट नेताहरुको दाबी छ ।
सिटौलाका समर्थकहरूले पनि गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र शान्ति प्रकृया अघि बढाउनमा पनि महत्वपूर्ण योगदान गरेको हुनाले उनलाई नै राष्ट्रपतिको उमेदवार बनाउन सभापति देउवालाई दबाब दिइरहेका छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि लबिइङमा छन् ।
उनको यो दौडधुपले सभापति देउवा सकारात्मक रहेको स्रोत बताउँछ । देउवाले अहिले नै बचन नदिएको भए पनि एक बैठकमा सिटौलाको नाम अघि सारिदिएपछि सिटौलाको सक्रियता बढेको हो ।
कांग्रेसबाट उनका नाममा निर्णय गराउन भने कठिन रहेको देउवा निकटकै नेताहरूको बुझाई छ ।
“गणतन्त्र ल्याउने भूमिका र शान्ति प्रक्रियालाई अघि बढाउने भूमिका सिटौलाजीको महत्वपूर्ण छ । योगदान छ । तर, पार्टीबाट निर्णय गराउन सहज छैन, देउवा निकट एक नेताले बाह्रखरीसँग भने, “प्रचण्डले नै मेरो पार्टीका सबै भोट ल्याउनका लागि सिटौला उमेदवार सहज हुन्छ भनिदिए मात्र पार्टीबाट निर्णय गराउन संभव हुन्छ ।”
ती नेताका अनुसार अहिलेलाई भने रामचन्द्र पौडेलनै उमेदवार हुन् । कांग्रेस माओवादीको सहयोगमा राष्ट्रपति पदमा आफ्नो उमेदवार जिताउन चाहन्छ । १० पुसमा महत्वकांक्षाका कारण माओवादीले अर्को गठबन्धन बनाएपछि पनि कांग्रेस माओवादी सहकार्य चलिरहेको छ ।
कांग्रेसले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत मात्र दिएको छैन प्रदेश संरचनामा माओवादीले पाएको सभामुख उपसभामुख पदमा उमेदवार उठाएन ।
यस्तै राष्ट्रिय सभा उपाध्यक्षमासमेत माओवादी उमेदवार जिताउन कांग्रेसले उमेदवारीनै दिएन । यता, एमालेले वा अर्को दलले उमेदवार उठाएको ठाउँमा कांग्रेसले आफ्नो उमेदवार उठायो ।
राष्ट्रिय सभा उपाध्यक्ष उमेदवारको विषयमा निर्णय गर्न बसेको पार्टीको बैठक पश्चात् कांग्रेसका एक पदाधिकारीले राष्ट्रपति निर्वाचनमा खेल्न सकिने र माओवादीको विश्वासमा आफ्नो उमेदवार जिताउन सकिने महत्वकांक्षाले आफूहरु ‘राष्ट्रपतिमा जुवा खेलिरहेको’ बताएका थिए ।
कांग्रेसले राष्ट्रपति निर्वाचनको विषयमा आफूलाई सहयोग गर्न माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई आइतबार राति आधिकारीक प्रस्ताव गरिसेको छ ।
पार्टी सभापति देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता कृष्ण सिटौला गएर कांग्रेसलाई सहयोग गर्न आधिकारिक रुपमा अनुरोध गरिएको भेटमा सहभागी एक नेता बताउँछन् । उक्त भेटमा पूरानै गठबन्धन ब्युँताउनेदेखि सहकार्यका अन्य विषयमा पनि छलफल भएको थियो ।