पार्टी एकता गर्न ओली र माधव नेपालबीच छलफल,राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको छ ।
काँग्रेसलाई राष्ट्रपति दिनुभन्दा नेपाललाई बनाउनु उपयुक्त हुने निष्कर्षसहित ओलीले यो प्रस्ताव राख्नुभएको हो ।
राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।
उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको हो।
एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गर्नुभएको हो ।
अध्यक्ष ओलीको बुझाइमा कांग्रेसका ‘रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाभन्दा माधवकुमार नेपाल नै राम्रो हो भन्दै उक्त प्रस्ताव गर्नुभएको एमाले निकट स्रोतले जानकारी दियो ।
ओलीको बुझाइमा यसो गर्दा पार्टी एकता पनि हुन्छ र काँग्रेससँग संसदमा हैसियतसमेत बराबर हुन्छ।
संविधानको धारा ७६ (३) मा जान सजिलो गराउँछ। प्रतिनिधिसभामा एमालेका ७९ र कांग्रेसका ८९ सांसद छन्।
एकीकृत समाजवादीका १० जना एमालेमा थपिँदा काँग्रेससँग बराबर हुन्छ।
स्रोतका अनुसार दुवै पक्षबीच भएको वार्ता सकारात्मक छ। छिट्टै पार्टी एकताको घोषणा हुने र राष्ट्रपतिमा एमालेका तर्फबाट नेपाल उम्मेदवार बनाउने तयारी छ ।