माधव नेपाललाई राष्ट्रपति बनाउन माओवादीसहित तीन दलको निर्णय
काठमाडौं । सत्तारूढ नेकपा माओवादीसहित तीन दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गर्ने निर्णय गरेका छन् ।
नेपालको नाममा राष्ट्रिय सहमति जुटाउन भोलि एमाले र कांग्रेससँग संवाद गर्ने निर्णय भएको छ ।
बैठकपछि नेकपा एसका नेता प्रकाश ज्वालाले भने,तीनवटा पार्टीबीच हामीले पहिलादेखि छलफल गर्दै आएका हौं। चुनावअघि पनि कार्यगत एकता गरेर अघि बढ्ने कुरा भएको थियो।
अहिले त्यसमा केन्द्रित भएर छलफल गरेका छौँ। सकारात्मक रूपमा अगाडि बढेको छ। सकभर वाम समाजवादी मोर्चा बनाएर जाऔं भनेर छलफल गरेका छौं।
उनले माधव नेपाललाई अघि सार्ने विषयमा कांग्रेससहित अन्य दलसँग छलफल गर्ने बताए।
उनले थपे, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले राष्ट्रपति सर्वसम्मत रुपमा उम्मेदवारका रुपमा चयन गरौं भन्नुभएको छ। त्यो हिसाबले हाम्रो अध्यक्ष र पार्टीलाई त्यो अवसर प्राप्त हुँदा अस्वीकार गर्ने कुरा भएन।
अध्यक्ष माधव नेपाललाई त्यसका लागि अघि सार्ने दाबी र अनुरोध छ।उनले नेकपा र पाँच दलीय गठबन्धन ब्यूँताउने बिषयमा ठोस छलफल नभएको बताए।
यस्तै, जसपा नेता राजेन्द्र श्रेष्ठले पनि तीन दलबीच मिलेर जाने भन्ने बिषयमा छलफल भएको बताए।
उनले भने, तीन दलबीच मिलेर जानेभन्नेबारे छलफल हुँदै आएको थियोे। त्यसलाई अझ विस्तारित गरेर अघि बढ्ने सहमति भयो।
भोलि कांग्रेससँग बसेपछि थप निर्णय हुन्छ। नयाँ गठबन्धन बन्छ बन्दैन भन्ने भोलि थाहा हुन्छ।