प्रचण्ड, देउवा र नेपालको आलोपालो सरकार बनाउने सहमति

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन ब्युताएका चार दलबीच सरकारको नेतृत्व तीन पार्टीले आलोपालो गर्ने सहमति भएको छ।  प्रधानमन्त्रीमा २–२–१ वर्षको पालो गर्ने पनि सहमति जुटेको बैठकमा सहभागी एक नेताले बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २–२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् ।

सोही अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार २ वर्षसम्म जाने छ । त्यसपछिको दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् । यस्तै चुनावी सरकारको नेतृत्व नेपालले गर्ने गरी सहमति भएको छ ।

ती नेताले भने, ‘राष्ट्रपति भनेर माधव नेपाल पावर सेरिङमा सहभागी हुन खोज्नुभएको थियो । उहाँलाई आगामी दिनमा प्रधानमन्त्री बनाउने सहमति भएको छ।

ती नेताका अनुसार कांग्रेसले राष्ट्रपति र जसपाले उप–राष्ट्रपति पाउने सहमति भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने परिस्थिति बनेको हो ।

ती नेताले अगाडि भने, ‘माधव नेपालजीलाई कही न कही ‘पावर सेरिङ’ गर्नुपर्ने भयो । कांग्रेस र माओवादीको आलोपालो हुने ठाउँमा केही समयका लागि माधव नेपालका लागि छोड्ने सहमति भएको छ ।

पुस १० मा सात दलीय गठबन्धन बन्दा साढे २–२ वर्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

पुरानो गठबन्धन ब्युँतिएपछि सात दलीय गठबन्धनबाट एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिने परिस्थिति बनेको छ ।

पुस १० मा सरकार बनाउन समर्थन गरेका जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँगै लिएर जाने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

प्रचण्ड नेतृत्वको सरकारमा अब कांग्रेस, एकीकृत समाजवादी, लोसपाको इन्ट्री हुने भएको छ । पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेका कांग्रेस, एकीकृत समाजवादी र लोसपा सत्ता पक्षमा पुग्ने परिस्थिति बनेको छ।