राष्ट्रपतिको लागि मेरो नाममा राष्ट्रिय सहमति गरौ : सुवासचन्द्र नेम्बाङ
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन् ।नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ ।
पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको बताए।
त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिँडेको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ।
अझै विश्वास छ भन्ने प्रश्नमा उनले भने, ‘विश्वास छ र त उठिराखेको छु। अहिलेसम्म उम्मेदवारी दर्ता गर्न कोही आउनुभएको छैन। आउनुभएछ भने पनि सम्मान छ।
प्रतिस्पर्धा भए त्यसको परिणामलाई स्वीकार गरेर अघि बढ्ने समेत उनले बताएका छन्।
नेम्वाङको मनोनयनको प्रस्तावकमा पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र छविलाल विश्कर्मा रहेका छन्।
समर्थकमा एमालेकै नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी थापा (रावल) र अमनकुमार मास्के रहेका छन्।