राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्न सबै तयारी पूरा भइसकेको बताउनुभयो।

कार्यालय प्रमुखमा विशिष्ट श्रेणीका सचिव रहने व्यवस्था भए पनि अहिले पद रिक्त छ।

राष्ट्रपति निर्वाचनपश्चात् कार्यालयले सचिव प्राप्त गर्ने अपेक्षा गर्दै त्यसपछि पूर्ण विवरण सार्वजनिक हुने उहाँले बताउनुभयो।

यसअघि सहसचिव कार्यालय प्रमुख रहने व्यवस्था भएकोमा गत असोजमा राष्ट्रिय तथ्यांक ऐन जारी भएसँगै कार्यालय प्रमुख सचिव रहने व्यवस्था गरिएको छ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ।

कार्यालयले गत माघमा जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो।

उहाँका अनुसार जनगणनाको विस्तृत विवरणमा सामाजिक अवस्था, देशको भाषा, अपाङ्गता भएका व्यक्ति, नागरिकको आर्थिक, रोजगारीमा संलग्न व्यक्तिहरूको अवस्था, बेरोजगार व्यक्तिको अवस्थालगायतका विवरण विस्तृत रूपमा आउनेछ।

सङ्घ, प्रदेश र स्थानीय तहका छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरिने कार्यालयले जनाएको छ।
गोरखापत्र दैनिकबाट।