सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं। प्रदेश सभाको फागुन २१ गतेको बैठकमा चार पार्टी र एक जना स्वतन्त्र सांसदले मत दिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्।

नेपाली कांग्रेसबाट अल्पमतको सरकार बनाएका शाहलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहको विश्वासको मतको पक्षमा बहुमत पुगेको घोषणा गरे। ५३ सदस्यीय प्रदेश सभामा शाहले ४१ मत पाएका छन्।

उनलाई कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार र स्वतन्त्र सांसद तारादत्त जोशीले विश्वासको मत दिएका हुन्।

विश्वासको मतको प्रस्तावको विपक्षमा ११ मत परे। विपक्षमा नेकपा (एमाले)का १० र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसदले मत दिए।