लोकतन्त्र रक्षाका लागि एमाले कांग्रेससँग सहकार्य गर्न तयार छः अध्यक्ष ओली

काठमाडौं । प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले लोकतन्त्र रक्षाका लागि आफ्नो पार्टी कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

तर, त्यस्तो सहकार्य व्यक्तिगत स्वार्थका लागि नभई राष्ट्रिय स्वार्थका लागि हुने उनले दाबी गरे।

राष्ट्रपति निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन सोमबार पार्टी मुख्यालय च्यासलमा सांसद्हरूलाई प्रशिक्षण दिँदै ओलीले भने, ‘लोकतन्त्रको रक्षा गर्ने सर्तमा एमाले कांग्रेससँग सहकार्य गर्न तयार छ।

एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ।

सो प्रशिक्षणमा एमालेबाट राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधानको रक्षा हुने बताए।

‘म राष्ट्रपति हुँदा संविधानको रक्षा गर्छु। तपाईंको शिर निहुरिने काम हुन दिन्नँ। संविधानको रक्षा मेरो पहिलो दायित्व हुनेछ,’ नेम्वाङले भने।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता आरजु राणालाई भेटेर आएको जनाए।

देउवाले पनि राष्ट्रपतिमा उपयुक्त पात्र भएको पनि बताउनुभयो । जिम्मेवार राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ भन्नेमा उहाँ पनि सहमत हुनुहुन्छ,’ उनले भने ।