काठमाडौंसहित यी ठाउँमा हल्का वर्षा,दिनभर मौसम कस्तो रहला?
काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी भेगमा आज दिनभर बादल लागेर धुम्म हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा अहिले बिहान पानी परिरहेको छ । तर दिनभर झरी भने नपर्ने महाशाखाको अनुमान छ ।
वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार आज काठमाडौं, पाल्पा, कास्की लगायतका जिल्लाहरुमा हल्का वर्षा भइरहेको छ ।
कर्णाली प्रदेशको डोल्पा लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ ।
आज दिउँसो केहीबेर पानी पर्न रोकिए पनि राम्रोसँग घाम लाग्दैन, चिसो महसुस हुन्छ,मौसमविद पौडेलले भने ।
अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ।
साथै अरेबियन सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीयस्तरमा विकसित भएको प्रणालीले पनि मौसममा बदली भएको हो ।
यसका कारण पहाडी भेगका धेरैजसो स्थानमा आज चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
तापक्रम पनि केही घटेर चिसो महसुस हुनेछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा लेखिएअनुसार आज र भोलि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
भोलि बिहीबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा हुने र कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।