हरेक शनिबार पशुपति मन्दिरको सरसफाइ गर्ने
काठमाडौं। अब हरेक शनिबार दुई घन्टा पशुपतिनाथ मन्दिरको सरसफाइ हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित मातहतका निकायमा कार्यरत कर्मचारीले हरेक शनिवार दुई घन्टा पशुपतिनाथ मन्दिरको सरसफाइ गर्ने भएका छन् ।
पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले कर्मचारीलाई पनि सरसफाइमा जुट्न आग्रह गरेको हो ।
मन्त्रालयसहित मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट अब हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।