उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता आज हुँदै

काठमाडौं ।आगामी चैत ३ गते शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ।

उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिंगका व्यक्तिले उम्मेदवारी दर्ता गराउनुपर्नेछ।

उम्मेदवारी दिनेले पाँच जना समर्थक र पाँच जना प्रस्तावक जुटाउनुपर्नेछ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार प्रस्तावक र समर्थक सो पदका लागि निर्वाचन आयोगले प्रकाशन गरेको ८८२ जनाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ।

मतदाता भने संघीय संसद् र प्रदेश सभाका सदस्य मात्रै छन्।

दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।

यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने कार्यक्रम तय भएको छ।

यसैबीच निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई उपराष्ट्रपति पदको मनोनयन गर्दा निर्वाचित राष्ट्रपतिको भन्दा फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी मनोनयन दर्ता गर्न निर्देशन दिएको छ।

आयोगको निर्देशनमा भनिएको छ, ‘फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयन गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष)वा समुदाय (खस आर्य) भन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारू वा मुस्लिम) व्यक्तिको मनोनयन पत्र मात्र दर्ता गर्नुपर्नेछ।

उपराष्ट्रपति पदका लागि चैत ३ गते मतदान हुनेछ । मतदानमा सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ तोकिएको छ।