राप्रपाको आड लगाउँदै फेरि उठ्ने प्रायासमा पूर्वराजाज्ञानेन्द्र ,देशभर आन्दोलनको आँधि ल्याउन राप्रपाका नेतालाई गोप्य निर्देशन
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन्।
झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले सो पार्टीले एजेण्डा स्थापित गर्न पहलकदमी लिनुपर्ने सुझाएका हुन्।
भेटको क्रममा देशको वर्तमान राजनीतिक परिस्थिति बिग्रँदै गएकाले अब पनि राजावादी शक्ति चुप लागेर बस्न नहुने धारणा पूर्वराजाले राखेका थिए।
स्रोतका अनुसार भेटका क्रममा पूर्वराजाले सुरुमा वर्तमान राजनीतिक परिस्थिति बिग्रेको भन्दै चिन्ता जाहेर गरेका थिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणासहित अन्य केही राजावादी सहभागी उक्त भेटमा पूर्वराजाले अब चुप लागेर बस्न नहुनेमा जोड दिंंदै आन्दोलनको आँँधि ल्याउन समेत तयारी गर्न निर्देशन दिएको स्राेतको दाबी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा झण्डै डेढ महिना रहेर बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी पछिल्लो समय सरकार र नेकपा माओवादी केन्द्रप्रति आक्रामक हुन थालेको छ।
राप्रपामात्रै होइन पछिल्लो समय राजावादी समूह र गणतन्त्रवादी समूहबीच द्वन्द्व बढेको जस्तो देखिन थालेको छ। जसको उदाहरण स्वरूप केही दिन अगाडि संसदमा ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री प्रचण्ड विरुद्ध विषवमन गरेका थिए।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डकै नेतृत्वको सरकारमा सहभागी भएर बाहिरिए लगत्तै राप्रपाका नेता तथा कार्यकर्ताहरु विभिन्न माध्यमबाट सरकार र माओवादी केन्द्रको नेतृत्वविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।
प्रतिपक्ष बेन्चमा पुगेपछि राप्रपाका नेताहरु सरकार र माओवादी केन्द्रविरुद्ध विभिन्न विषयमा आलोचनात्मक टिप्पणी गर्न थालेका छन्। यस्तै राजावादी शक्तिहरु पनि उसैगरी आक्रामक रुपमा आउन थालेका छन्।